No Comments

आफ्नो घर भत्काउनुहोस कर छुट पाउनुहोस

धनगढी — सडक विस्तारका क्रममा सडक क्षेत्रमा पर्ने निजी स्वामित्वका घरमालिक आफैंले भत्काउन प्रोत्साहन गर्न धनगढी उपमहानगरपालिकाको कार्यालयले सम्मान गर्ने भएको छ । नगर क्षेत्रभित्रको सडक विस्तारका क्रममा घर तथा संरचना हटाउने कार्यलाई प्रभावकारी बनाउन यस्तो कार्यक्रम ल्याइएको उप–महानगरपालिकाले जनाएको छ ।

साउन सुरुदेखि नै यो कार्यक्रम लागू गरिने नगरप्रमुख नृपबहादुर वडले बताए । नगरप्रमुख बडले भने, ‘सडक क्षेत्रमा पर्ने घरहरू भत्काउन ढिलाइले निर्माण कार्यमा बाधा नपुगोस् भनेर यस्तो कार्यक्रम सञ्चालनगर्न लागिएको हो ।’

आफैं घर भत्काउन अग्रसर हुने घर मालिकलाई सार्वजनिक सम्मानबाहेक उनीहरूलाई नयाँ घर निर्माणमा लाग्ने घर नक्सापास शुल्क तथा एकीकृत सम्पत्ति करसमेत छुट दिने उप–महानगरको कार्यालयले जनाएको छ । साथै, उनीहरूले नयाँनयाँ बनाउने घरको सडकतर्फको मोहडामा रंगरोगन गर्ने कामसमेत कार्यालयले गर्ने सूचना अधिकारी तथा प्रशासकीय अधिकृत सुरेन्द्रसिंह कार्कीले बताए । धनगढीको सडक सुधारका लागि सघन सहरी विकास कार्यक्रमअन्तर्गत करिब ३६ वटा सडकमा ९२ किलोमिटर सडक कालोपत्रे तथा फराकिलो हुनेगरी निर्माण हुँदै छ ।

धनगढीको मोहना–अत्तरिया ६ लेनको सडक निर्माणका क्रममा केही स्थानमा घरधनीहरूले सडक क्षेत्रमा निर्माण भएका संरचना हटाउन अटेर गर्दा काम रोकिएको थियो ।

त्यस क्रममा धनगढी चौराहका केही घर धनीहरूले सर्वोच्च अदालतमा मुद्दासमेत गरेका थिए । अदालतले घरधनीको दाबीका विपक्षमा फैसला गरेको थियो । फैसलापछि पनि घर भत्काउन अटेर गर्नेहरूका घरहरू उप–महानगरका कर्मचारी आपैंm अग्रसर भएर भत्काएका थिए । आगामी दिनमा यस्तो कार्य सहज होस् भनेर उप–महानगरले सार्वजनिक कार्यक्रम आयोजना गरेर सम्मान गर्ने नीति लिइएको सूचना अधिकारीकार्कीले बताए ।

धनगढी उप–महानगरपालिका क्षेत्रभित्र विस्तार भइरहेको चक्रपथलगायत विभिन्न सडक विस्तारका क्रममा थुप्रै निजी संरचना सडक क्षेत्रमा पर्ने देखिएका छन् । नगरप्रमुख बडले भने, ‘छिटोछरितो रूपमा सडक विस्तारको काम गरेर सुन्दर नगर निर्माण गर्न नगरवासीको सहयोगको खाँचो छ ।’

बसाइसराइ र जनसंख्या वृद्धिदर उच्च रहेको धनगढी सहर उसै पनि गज्याङगुजुङ बस्ती भएको अव्यवस्थित सहर हो । हाल निर्माणाधीन अत्तरिया–धनगढी ६ लेनको सडक मुख्य चर्चामा छ । ६ लेनको सडक करिडोर निर्माण पूरा भएपछि धनगढीको भौतिक रूप फेरिनेमा यहाँका बासिन्दा ढुक्क छन् ।

६ लेन सडकबाहेक एसियाली विकास बैंकको ३ अर्ब १९ करोड लागतमा धनगढीभित्र ४२ किमि उच्च गुणस्तरको कालोपत्रे सडक निर्माण हुँदै छ । हाल पूर्वाधार विकासका लागि धनगढीमा सघन सहरी विकास कार्यक्रम र क्षेत्रीय सहरी विकास आयोजना सञ्चालित छन् । सघन सहरी विकास कार्यक्रमअन्तर्गत करिब ३६ वटा सडकमा ९२ किमि निर्माण हुँदै छ ।

सघन सहरी विकास कार्यक्रमका व्यवस्थापक तथा भवन तथा सहरी विकास डिभिजन प्रमुख रवीन्द्र बोहराले भने, ‘निर्धारित समयमै काम सम्पन्न हुन सके धनगढी व्यवस्थित सहरमा रूपान्तरण हुनेछ ।’ परियोजनालाई छिटोछरितो काम गर्नका लागि उप–महानगरले सहजीकरण गरिरहेको जनाएको छ । नगरप्रमुख बड भन्छन्, ‘धनगढीभित्र फुटपाथसहितको व्यवस्थित तथा फराकिला सडक निर्माण, हरियाली, फोहोरमैला व्यवस्थापन प्राथमिकताका कार्यहरू हुन् ।’ नगरको आफ्नै स्रोत परिचालनका साथै एसियाली विकास बैंकको सहयोगमा नगरले सहकार्य गरिरहेको नगरप्रमुख बडले बताए ।

श्रोत: कान्तिपुर दैनिक

Comments (0)